पाठ १ ॥ पश्चताप ॥ हप्ता १

पहिलो र दोस्रो पाठमा हामी मुक्ति पाउने सवालमा मान्छेको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा हेर्नेछौं। यसअन्तर्गत दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पावलले यी दुइटैलाई प्रेरित २०:२१ मा व्याख्या गर्छन्। त्यहाँ उनले पश्चात्तापलाई पहिला उल्लेख गर्छन्, त्यसैले हामी यसैबाट सुरु गर्नेछौं।

पश्चात्ताप सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नका जवाफ यस प्रकार छन्:

के मुक्ति पाउनलाई पश्चात्ताप आवश्यक पर्छ?

पश्चात्ताप परमेश्वरले आज्ञा नै गर्नुभएको छ। नयाँ नियममा यो ६० पटक उल्लेख भएको छ। यसको प्रचार बप्‍तिस्मा दिने यूहन्नाले गरे (मत्ती ३:१-२) , ख्रीष्टले गर्नुभयो (लूका १३:३), पत्रुसले गरे (२ पत्रुस ३:९) र पावलले गरे (प्रेरित १७:३०)। मुक्ति पाउनलाई पश्चात्ताप र विश्वास दुवै आवश्यक छ, र पावल प्रेरितले दुइटैको प्रचार गरे (प्रेरित २०:२१)।

पश्चात्ताप सम्बन्धी त्यहाँ के कस्ता गलत धारणाहरू छन्?

पश्चात्तापको माने जीवन बदल्नु होइन, सुध्रिनु होइन।

मुक्ति मानिसका कामले पाइने होइन; कामहरू मुक्ति पाइसकेपछिका त्यसका प्रतिफल हुन् (एफेसी २:८-१०)। जीवन सुध्रिनु भनेको त केवल मानिससितको र यस जीवनसितको सम्बन्ध राख्‍ने कुरा हो, तर पश्चात्ताप भनेको परमेश्वरसतिको र अनन्त कुराहरूसितको सम्बन्ध राख्‍ने कुरा हो। मुक्ति पाउनलाई मान्छेले आफ्नो जीवन बदल्नुपर्छ र आफ्नो पाप छाड्नुपर्छ भन्ने आभास मानिसहरूलाई दिनु गलत हुन्छ - त्यसो नगर्नलाई हामी होसियार हुनुपर्छ। जीवन परिवर्तन गराउने मुक्तिको भाग परमेश्वरको हो, मान्छेको होइन।

पश्चात्तापको माने तपस्या गर्नु होइन।

कतिपय क्याथोलिक बाइबलहरूमा "पश्चात्ताप" लाई "तपस्या गर्नु" (penance) भनेर अनुवाद गरिएको छ। त्यसअन्त्तर्गत पूरोहीतलाई पाप स्वीकार गर्नु, पछुताउनु, पापमोचन (क्षमा भएको भनी पूरोहीतले घोषणा गर्नु), प्रायश्चित पर्दछन्। क्याथोलिक तपस्या कामले कमाउने मुक्ति हो जसलाई बाइबलले रद्द गर्दछ।

पश्चात्तापको माने गल्ती गरेकोमा पछुतो लाग्नु मात्र होइन।

मानिसले गल्ती गरेकोमा पछुतो माने तापनि मुक्ति ल्याउने साँचो पश्चात्ताप उसले नगर्न सक्छ भन्ने कुरा बाइबलले बताउँछ। यसलाई २ कोरिन्थी ७:१० मा "सांसारिक शोक" भनेर बयान गरिएको छ। पुरानो र नयाँ नियममा यसका उल्लेखनीय उदाहरणहरू छन्। पुरानो नियमको प्रमुख उदाहरण शाऊल राजा हो। विभिन्न पापपूर्ण काममा उनी पक्राउ परेकोमा उनी दुःखित थिए तर आफूले पश्चात्ताप गरेको उनले कहिल्यै देखाएनन् किनकि उनको व्यवहारमा कुनै परिवर्तन आएन (१ शमूएल १५:२४; २४:१७; २६:२१)। पछुतो मान्ने तर परमेश्वरतर्फ पश्चात्ताप नगर्ने मान्छेको नयाँ नियमको उदाहरण चाहिँ यहूदा हो (मत्ती २७:३-४)।

पश्चात्तापको माने येशूमा विश्वास गर्नु मात्र होइन।

कतिले पश्चात्तापलाई विश्वास गर्नु भन्ने अर्थमा नै परिभाषित गरेका छन्। एकजना परिचित प्रचारकले यसलाई "अविश्वासबाट विश्वासमा फर्कनु" भन्ने परिभाषा दिएका छन्। तर यदि यो सत्य हुँदो हो ता, बाइबलमा उल्लेखित प्रचारकहरूले पश्चात्तापको प्रचार नगर्नेथिए। पावलले "परमेश्वरतर्फ मन फिराउनुपर्छ" अर्थात् पश्चात्ताप गर्नुपर्छ र "प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ" भनी प्रचार गर्थे भनेर हामीले हेरिसक्यौं (प्रेरित २०:२१)। प्रेरित २६:२० लाई विचार गर्नुहोस्; त्यहाँ पावलले विश्वासीहरूलाई "पश्चात्ताप लायकका कामहरू गर" भन्दै अधिकारयुक्त माग राखे। यसको मतलब पश्चात्तापको माने असल कामहरू गर्नु होइन; यसको मतलब पश्चात्तापको माने मनको एउटा प्रभावशाली परिवर्तन हो जसको फलस्वरूप असल कामहरू उत्पन्न हुन्छन्।

बाइबलीय पश्चात्ताप के हो?

पश्चात्तापको माने मैले परमेश्वरको विरुद्धमा पाप गरेको छु भन्ने कुराको स्वीकार गर्नु र त्यसका निम्ति दुःखित बन्नु हो (प्रेरित २०:२१)। पश्चात्ताप "परमेश्वरतर्फ" गरिनुपर्ने कुरा हो किनकि मैले अप्रसन्न तुल्याएको परमेश्वरलाई हो। उहाँले मानिसलाई आफ्नो निम्ति बनाउनुभएको थियो, अनि उहाँले मानिसलाई आफ्ना नियमहरू पालन गर्नलाई बनाउनुभयो। तर हामीले उहाँलाई हाम्रा पिठिउँ फर्काएका छौं र उहाँका नियमहरू उल्लङ्घन गरेका छौं र हामीले यसको पश्चात्ताप गर्नुपर्छ भन्ने माग उहाँले राख्‍नुहुन्छ। पश्चात्तापको माने म असल छैन भनेर स्वीकार गर्नु हो, यहाँसम्म कि मेरो आफ्नै धार्मिकता त तीनदोब्बर पवित्र परमेश्वरका सामु फोहोर झुत्राझैं छन् भनी मानी लिनु हो (यशैया ६४:६)।

पश्चात्तापको माने फनक्क फर्कनु हो, दिशा बदल्नु हो (प्रेरित २६:२०)। यो यस्तो कुरा हो जुनचाहिँ हृदयभित्र, मानिसको मनभित्र पूरा हुन्छ।

पश्चात्तापको माने परमेश्वरको शासनप्रति आफूलाई आत्मसमर्पण गर्नु हो (येशैया ४५:२२-२३)। पश्चात्तापको माने ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा ग्रहण गर्नु हो (रोमी १०:९-१३)। विश्वास गर्नुको माने येशू ख्रीष्टलाई मेरोएकमात्र मुक्तिदाताको रूपमा ग्रहण गर्नु हो र पश्चात्ताप गर्नुको माने उहाँलाई मेरो एकमात्र प्रभुको रूपमा ग्रहण गर्नु हो। हामी यस कुरालाई नयाँ नियमभरि देख्‍न सक्छौं। येशूलाई साँच्चै नै ग्रहण गर्नेहरूले उहाँलाई प्रभु भनी पुकारेका छन् (लूका २३:४२)।

पश्चात्तापको माने जीवनको परिवर्तन होइन; पश्चात्तापको माने परमेश्वरको बारेमा र पापको बारेमा मनको यस्तो परिवर्तन हो जसको फलस्वरूप जीवनको परिवर्तन हुन्छ। "मैले विश्वास गरेँ" वा "मैले ग्रहण गरेँ" भन्ने धेरैजना हुन्छन् जसका मनमा नयाँ जीवन जिउने कुनै सङ्कल्प नै हुँदैन। उनीहरू ख्रीष्टको चेला बन्न इच्छुक छैनन्। उनीहरू स्वर्ग जाने टिकट चाहन्छन्, नरकबाट जोगिन चाहन्छन्, तर उनीहरू आफूखुसी जीवन व्यतित गरिरहन चाहन्छन्। उनीहरू येशूमा विश्वास गर्न त चाहन्छन् तर उहाँको आज्ञा भने मान्न चाहँदैनन्। बाइबलले बताएको मुक्ति यो होइन। सत्य परमेश्वरको उपासना गर्न र उहाँको सेवा गर्न सक्नलाई एउटा पापी आफ्ना झूटा देव-देवीहरूदेखि अर्थात् स्वपूजादेखि समेत फर्कन तयार हुनुपर्छ।

 www.wordoftruth.com.np बाट अनुमतिकासाथ साभार गरिएको


Notes:

____________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________




Leave a Reply.