पाठ १  ॥ पश्चताप ॥ हप्ता

बाइबलमा पश्चात्तापको के कस्ता उदाहरणहरू छन्? पश्चात्तापलाई बुझ्ने सर्वोत्तम उपाय बाइबलमा पाइने यसका उदाहरणहरूलाई हेर्नु हो।

उडाउ पुत्र

उडाउ पुत्र "होशमा आयो" (लूका १५:१७-२०)। यसको तात्पर्य उसलाई पवित्र आत्माले कायल पार्नुभयो र प्रकाश दिनुभयो। उसले आफूलाई नम्र तुल्यायो, परमेश्वरको विरुद्धमा र आफ्नो बुबाको विरुद्धमा उसले गरेको आफ्नो पापलाई स्वीकार गर्‍यो; अनि बेग्लै दिशातर्फ उन्मुख हुने गरी ऊ फनक्कै फर्क्यो। पश्चात्ताप भनेको यस्तो हुन्छ। उसले पश्चात्ताप गरेको थियो भन्ने कुराको प्रमाण यसैमा देखिन्छ कि ऊ घर फर्क्यो र बुबासितको आफ्नो सम्बन्धलाई ठीक-ठाक पार्‍यो; उसले आफूलाई नम्र तुल्यायो र बुबाको घरमा नोकर भएर काम गर्न तत्पर भयो।

जक्कै

जक्कैले पश्चात्ताप गर्‍यो र ऊ यस्तरी बदलियो कि आफूले ठगेकाहरूलाई सट्टाभर्ना तिर्ने खालको एउटा इमानदार मान्छे बन्यो (लूका १९:८)।

थेस्सलोनिकीहरू

थेस्सलोनिकीहरू "जीवित र सत्य परमेश्वरको सेवा गर्नाका निम्ति...मूर्तिहरूबाट परमेश्वरतर्फ" फर्के (१ थेस्सलोनिकी १:९)। बाइबलीय पश्चात्ताप यस्तो हुन्छ। उनीहरू केवल मूर्तिहरूबाट फर्केका होइनन्; उनीहरूपरमेश्वरतर्फ मूर्तिहरूबाट फर्केका हुन् [अङ्ग्रेजी: "turned from idols to God" होइन तर "turned to God from idols"]। यो भिन्नता महत्त्वपूर्ण छ। यदि एउटा मान्छे परमेश्वरतर्फ नै फर्केको छ भने उसका पहिलेका देव-देवीहरू र उसको पुरानो जीवन उसको पिठिउँको पछाडि हुन्छ। साँचो पश्चात्ताप यस्तो हुन्छ।

एउटा व्यक्तिले आफ्ना झूटा देवताहरू र झूटा धर्महरूलाई इन्कार नगरेसम्म र आफूलाई ख्रीष्टको प्रभुत्वमुनि आत्मसमर्पण नगरेसम्म उसले मुक्ति पाउन सक्दैन।

ख्रीष्टलाई स्वीकार गर्नेले ख्रीष्टलाई प्राप्‍त नगरेको हुन सक्छ भनेर बाइबलले चेताउनी दिन्छ। यी जोरदार वचनहरूलाई विचार गर्नुहोस् जसले बाइबल मान्ने खालका मण्डलीहरूकै बीचमा भएका व्यक्तिहरूको समेत बयान गर्दछ: तीतस १:१६; १ यूहन्ना २:४।

"येशूमा विश्वास गर्नु" नै पर्याप्‍त होइन। दुष्टात्माहरूले समेत विश्वास गर्छन् (याकूब २:१९)। भन्ने हो भने, दुष्टात्माहरू थरथर काम्छन्; अर्थात् सामान्य "ख्रीष्टियन" हरू भन्दा त उनीहरू पो बढी परमेश्वरको डर मान्दा रहेछन्!

बाइबलअनुसार धेरैले येशूमा विश्वास गरे तापनि उहाँले आफूलाई उनीहरूको भरोसामा छोड्नुभएन, किनभने उनीहरूले उहाँमाथि ठीकसँग विश्वास गरिरहेका थिएनन् भनी उहाँ जान्नुहुन्थ्यो (यूहन्ना २:२३-२५)। उनीहरूले उहाँलाई मुक्तिदाता र प्रभुको रूपमा विश्वास गरेनन्; केवल उनीहरूको खाँचोहरू पूरा गरिदिने, सांसारिक शत्रुदेखि रक्षा गर्ने व्यक्तिको रूपमा मात्र विश्वास गरे (यूहन्ना ६:२६)। उहाँलाई उनीहरूले एक महान् अगववक्ताको रूपमा विश्वास गरे तर आफ्नो एकमात्र परमेश्वर र मुक्तिदाताको रूपमा भने विश्वास गरेनन्।

थुप्रै नामधारी ख्रीष्टियनहरूको जीवनहरूमा अप्राप्‍य तत्त्व नै पश्चात्ताप हो। म हुर्केको मण्डली प्रायःजसो अन्य सदर्न ब्याप्टिस्ट मण्डली (Southern Baptist Church) जस्तै थियो। थोरै युवाहरू मात्र पछिसम्म मण्डलीमा टिक्न सके। धेरैजसो भने किशोरावस्थामा पुगेपछि मण्डली छोड। पछिल्तिर फर्केर हेर्दा म बुझ्छु कि मूल समस्या मुक्तिको अभाव थियो। मेरो अनुभव अरूको जस्तै थियो। ११ वर्षको उमेरमा गर्मी विदाको अवसरमा आयोजना गरिने बाल सङ्गति (Vacation Bible School) मा मैले विश्वासको स्वीकार गरें, तर त्यसमा कुनै आत्मिक वास्तविकता थिएन। मेरो जीवनमा कुनै परिवर्तन थिएन। ख्रीष्टको निम्ति कुनै जोश थिएन, बाइबलप्रति कुनै प्रेम थिएन, आफ्नो जीवनको लागि परमेश्वरको इच्छा खोज्ने कुनै उत्सुकता थिएन। मेरो जोश मोजमज्जाको निम्ति थियो र मेरो परमेश्वर स्वयम् आफैं थिएँ। सकभर चाँडो मैले मण्डली छाडेँ। किन? म नयाँ गरी जन्मेकै थिइनँ, र युवा समूहका सबैजसोको अवस्था यस्तै थियो। परमेश्वरका कुराहरूका निम्ति गम्भीर देखिने एउटै युवा उक्त मण्डलीमा भएको मलाई सम्झना छैन।

मेरा परममित्रहरू सांसारिक थिए अनि एक दिनको कुरा हो, मण्डलीका हामी तीनजना साथीहरू एकजना मण्डली नजाने साथीसँगै सुन्तला बारीमा हिँड्दै थियौं। ऊचाहिँ हाम्रो "नाइके" थियो। हामी हाहाहुहू गर्दै लहडबाजीमा सँगै दगुर्थ्यौं र कैयौं सांसारिक बदमाशीमा सँगै फस्थ्यौं, तर किन हो कुन्नी हामीले मण्डलीको एउटा विशेष सभामा आउनलाई उसलाई मनाउन खोज्दैथियौं। फर्केर उसले हामीलाई हकार्‍यो, "म त्यहाँ किन जाने? तिमीहरूको जीवन मेरोभन्दा अलिकति पनि फरक छैन।" हाम्रो मुख बन्द भयो, किनकि उसको कुरा शतप्रतिशत सही थियो!

अभाव भनेको पश्चात्तापको थियो। म येशूमा "विश्वास गर्थेँ" जसरी दुष्टात्माहरूले पनि परमेश्वरमा विश्वास गर्छन्, तर त्योचाहिँ मुक्ति दिलाउने विश्वास थिएन किनकि त्यो पश्चात्तापरहित थियो।

मुक्ति भनेको ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो। मुक्ति भनेको धर्म होइन। यो अथवा त्यो विश्वास गर्नु, यो अथवा त्यो गर्नु नै मुक्ति होइन। यो त येशूसितको व्यक्तिगत सम्बन्ध हो। हरेकलाई नै म यो प्रश्‍न सोध्न चाहन्छु: के तपाईं येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा चिन्नुहुन्छ? के उहाँसँग तपाईंको वास्तविक सम्बन्ध छ? के तपाईं उहाँसँगै हिँड्नुहुन्छ र उहाँसँग कुरा गर्नुहुन्छ? यसलाई पो भनिन्छ मुक्ति! यूहन्ना १७:३ मा हेर्नुहोस्।

  www.wordoftruth.com.np बाट अनुमतिकासाथ साभार गरिएको 

Notes:

_____________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________________




Leave a Reply.